‘१० बर्ष थिएटरमा बिताउदा चलचित्र क्षेत्रलाई नै भुलेको थिए,’ सौगात मल्ल (भिडियोसहित)

    पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका भर्सटाइल अभिनेताको रुपमा परिचित छन्, सौगात मल्ल। ‘कागबेनी’ चलचित्र बाट मुख्य भूमिकामा देखिएका सौगातले सो चलचित्र भन्दा अगाडी तीन चलचित्रमा सहायक अभिनेताको भूमिका निर्वाह गरिसकेका थिए। सानै बाट अभिनय गर्ने रुची रहेको बताउने सौगात भन्छन्, ‘जे सपना देखेको थिए त्यहि सपना आज पुरा गर्दैछु, साथमा रमाईलो कुरा के छ भने मैले जे गर्ने सपना देखेको थिए त्यहि काम गरेवाफत पैसा समेत पाईरहेको छु।’

     

    नेपाली चलचित्रमा आउनु अगाडी सौगातले आकाश अधिकारी संग ६ महिनाको अभिनय क्लास लिएका थिए। अभिनय क्लास संगै उनि रणभूमि, दाग, पंक्षी जस्ता चलचित्रमा सानो भूमिकामा देखिएका थिए। त्यो समयमा बनिरहेका चलचित्रमा आफु फिट भएको नदेखेर उनि थिएटर तर्फ आकर्षित भएका थिए। उनि भन्छन्, ‘त्यो समयमा मैले ती चलचित्रमा आफुले गर्न सक्ने भूमिका नपाएको आभाष हुन्थ्यो। चलचित्रको मुख्य अभिनेता भन्दा म राम्रो काम गर्न सक्थे जस्तो लाग्थ्यो। तर मैले त्यो अवसर पनि पाईन र चलचित्र पनि मेरो लागि सहजको क्षेत्र त्यो समयको लागि बनेन।’

    चलचित्रमा राम्रो एक्टरले समेत काम देखाउने मौका त्यो समयमा नदेखेपछि सौगातले आफ्नो अभिनयको तिर्खा मेटाउन थिएटरलाइ रोजेका थिए। आफुले सोचेजस्तो अभिनय गर्न पाउने, आफ्नो क्यारेक्ट माथि न्याय गर्न पाउने देखेपछि सौगातले धेरै बर्ष थिएटरमा आफ्नो समय बिताए। अहिले जुन रुपमा आफ्नो अभिनय कलामा उनि प्रखर देखिएका छन् त्यो सवैको जस उनि थिएटरलाई दिन्छन्। उनि थिएटरमा यति धेरै भिजिसकेका थिए कि उनले चलचित्र क्षेत्रलाई लगभग भुलिसकेका थिए।

    रंगकर्मको क्रममा नै उनको भेट विरेन्द्र हमाल, अनुप बराल जस्ता अब्बल कलाकारसंग उनले थिएटरमा अभिनय गर्ने मौका पाए। उनले लगभग १० बर्ष बढीको समय थिएटरमा नै बिताए।
    त्यसपछि ‘कागबेनी’ चलचित्रलाई सम्झदै भने,’ आफुलाई मन पर्ने स्क्रिप्ट भएकाले धेरै उत्साहित थिए चलचित्र गर्नको लागि तर धेरै समयको वर्कसप र मिहेनत पछी मात्रै चलचित्रको लिड रोलमा काम गर्ने अवसर पाए।’ कागबेनी पछी सौगातले दासढुंगा लगायत केहि चलचित्रमा काम गरेका थिए। तर सौगातलाई चलचित्र क्षेत्रमा परिचित र स्थापित हुन भने ‘लुट’ सम्म कुर्नुपर्यो। उनि अहिले पनि धेरैको नजरमा लुट का ‘हाक्कु काले’ को रुपमा नै परिचित छन्। त्यसपछि सौगातको नेपाली चलचित्र क्षेत्रमा व्यस्तता एकाएक बढ्यो। एकपछि अर्को चलचित्रमा उनलाई देखिन थाल्यो। तर चलचित्रमा जति सौगातको अभिनयको तारिफ हुदै गयो चलचित्रले त्यति नै मात्रामा व्यापार गर्न सकेनन्। केहि बाहेक सौगातका अधिकंश चलचित्र व्यावसायिक हिसाबले भने असफल रहेका छन्।

    उनको पछिल्लो रिलिज चलचित्र शब्द पनि व्यापारिक हिसावले असफल रह्यो। अब उनको आशा बर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘लुट २’ बाट रहेको छ। सौगात भन्छन्,’ चलचित्र एउटा कलाकारको कारणले मात्रै चल्ने हैन। व्यावसायिक हिसाबले कस्तो रह्यो भन्दा पनि म आफुले चलचित्रको पात्रमा कतिको न्याय गर्न सके र फरकपना कति दिन सके भन्ने कुरामा आफु बढी सोच्ने गर्छु।’

    अनि एकपछि अर्को लगातार चलचित्र प्रदर्शन आउदा स्टारडम घट्ने डर हुदैन? भन्ने प्रश्नमा सौगात भन्छन्, ‘कुनै पनि कलाकरलाई बर्षमा लगातार पर्दामा देखिने रहर हुदैन तर काम पनि यहि भयो अभिनय नगरी खालि पनि बस्न मन मान्दैन।’ उनले थपे,’ कहिलेकाही सम्वन्धको लागि पनि चलचित्रमा अभिनय गर्नुपर्ने हुन्छ।’

    सामाजिक संजाल र मिडिया बाट अलिक टाढा रहने सौगात भन्छन्,’ मलाई लाग्छ दर्शकले मलाई पर्दामा अभिनयको हिसाबले नै बोलेको हेर्न चाहन्छन् जस्तो लाग्छ। अनि सामाजिक संजालमा चलाउनु चै समयको व्यर्थ। बरु त्यो समयमा चलचित्रको स्क्रिप्टमा नै रहन्छु।’

    अनि बजारमा चल्ने प्रेम सम्वन्धको चर्चाको बारेमा सौगात भन्छन्, ‘त्यो चर्चा चलिरहन्छ। यथार्थ यहि हो उनि मलाई धेरै माया गर्छिन्, सायद त्यो भन्दा बढी म उनलाई माया गर्छु।’

    सौगात मल्ल संग गरिएको भिडियो कुराकानी

    Comments

    comments