फ्राइडे रिलिजमा ‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’, ‘धनपति’ दोश्रो सातामा

loading...

आज असार ३० गते शुक्रबार दुई नेपाली चलचित्र रिलिज भएका छन्। सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ र सुनिल रावलको चलचित्र ‘सायद २’ आजबाट प्रदर्शनमा आएका हुन्।

पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ असार २८ गते बुधवार गरेको प्रिमियर बाट सकारात्मक प्रतिक्रिया बटुलेको थियो। त्यस्तै गीत संगीत र ट्रेलरले बनाएको हाईपको कारण पनि चलचित्रले दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ। पुजा शर्मा र सुदर्शन थापाको संयुक्त लगानीमा बनेको चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन्।

उता केहि बर्ष अगाडी रिलिज भएको चलचित्र ‘ सायद’ को सिक्वेल ‘सायद २’ मा नयाँ अनुहारको बाहुल्यता रहेको छ। सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमित ढुंगाना लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

त्यस्तै गएको हप्ताबाट रिलिज भएको चलचित्र ‘धनपति’ दोश्रो सातामा प्रवेश गरेको छ। मिश्रित प्रतिक्रिया पाएको चलचित्रले दर्शकको राम्रो साथ पाईरहेको निर्माण पक्षले जानकारी दिएको छ। दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा रहेका छन्।

Comments

comments