दया र प्रियंका की अर्पण र ऋचाको जोडी कसले मार्ला बाजी ?

यो साता फ्राइडे रिलिज अन्तर्गत दुईवटा चलचित्र रिलिज भएका छन्। अर्पण थापा निर्देशित ‘आधा लभ’ र देव कुमार श्रेष्ठ निर्देशित चलचित्र ‘लाल्टिन’ आजबाट एकसाथ प्रदर्शनमा आएका छन्।

चलचित्र ‘लाल्टिन’ मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारि, अर्जुन जंग शाही, मेलिना मानन्धर, भानु प्रताप लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र मार्फत दुई नयाँ कलाकार निर्जन थापा र राज कटुवालले डेव्यु गर्दैछन्। अनिम श्रेष्ठ र राज केसी निर्माताको रुपमा रहेको चलचित्रमा अनोज राज भण्डारी र दिपक श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन्। स्टार कलाकारको बाहुल्यता रहे पनि प्रमोशनमा कलाकारले साथ नदिदा चलचित्रले सोचे अनुसारको हाईप बनाउन सकेको छैन। तर नेपाली सिने नगरीमा निकै रुचाईएको दया र प्रियंकाको जोडीलाई दर्शकले निकै लामो समय पछि पर्दामा देख्न लागेको कारण चलचित्रले केहि राम्रो गर्ने अनुमान गरिएको छ।

यता ऋचा फिल्म्सको प्रस्तुती ‘आधा लभ’ पनि आज बाट नै प्रदर्शनमा आएको छ। मिथिला शर्मा, टिका पहारी, अर्पण थापा, ऋचा शर्मा, रेमनदास श्रेष्ठ लगायताका कलाकार अभिनित चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन्। अभिनेत्री बाट निर्मात्री बन्ने क्रममा रहेकी ऋचा शर्माको चलचित्रले केहि दिन अगाडी गरेको प्रिमियर पश्चात मिश्रित प्रतिक्रिया बटुलेको थियो। शहर भित्रका मान्छेहरुको मायाको अनुवाद बोल्ने चलचित्रमा फरक समुहमा रहेका मानिसहरुको प्रेमभाव चित्रण गरिएको छ।
अब एक्सन मुभी भनिएको ‘लाल्टिन’ अथवा प्रेम चित्रण गरेको ‘आधा लभ’ दर्शकले कुन चलचित्र रुचाउने हुन त्यो भने आगामी दिनमा चलचित्रले गरेको व्यापारले नै बताउला?

Comments

comments