मुसहरको मुहारमा धुर्मुस-सुन्तलीले ल्याएको खुशी (तस्विर र भिडियोमा)

भनिन्छ मान्छेलाई रुवाउन जति सजिलो छ त्यति नै गार्हो छ हसाउन। कसैको मुहारमा एक झल्को खुशी ल्याउन पनि निकै गार्हो पर्ने गर्दछ।

नेपाली कलाकारिताको एक सफल हास्य जोडी हुन्, सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ दुवैले पर्दाबाट निकै लामो समय सम्म दर्शकलाई हँसाए। ‘मेरी बास्सै’ मार्फत यो जोडी स्थापित बन्यो अनि हरेक नेपालीको मनमा राज गर्न सफल बन्यो।

पर्दामा हसाईराहेको यो जोडी २०७२ सालमा गएको महाभूकम्प पछी पिडितको मुहारमा हासो ल्याउने अभिभार काधमा बोकेर नमुना बस्ति बनाउने प्रण गरेर अगाडी बढ्यो। हरेक जसो ठाउँमा पुनर्निर्माणको काममा ढिलाई भैरहेको बेला धुर्मुस-सुन्तलीले सुरुमा काभ्रेको पहरी बस्ति निर्माण गरे अनि लिए सिन्धुपाल्चोकको गिरानाचौर बस्ति निर्माण गर्ने जिम्मेवारी।

दूईवटा वस्ती निर्माण गरिसक्दा समेत थाकेनन धुर्मुस-सुन्तलीका पाईलाहरु। उनीहरु पहाडबाट तराई झरे अनि महोत्तरीको बर्दिवासमा रहेको मुसहर बस्ति निर्माण गर्न हौसिए। रोग, भोक र शोकले पिडित मुसहरको मुहारमा हासो ल्याएरै छाड्ने प्रण गरेर अगाडी बढ्यो यो जोडी।

२०७३ साल पौष २५ गते बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट बैशाख १ गते बस्ति हस्तान्तरण गर्ने घोषणा सहित बस्तीको शिलन्यास गरे। अनि तोकिएकै मितिमा बरिष्ठ हास्य कलाकारको हातबाट बस्ति हस्तान्तरण गर्दै धुर्मुस-सुन्तलीले आफ्नो तेश्रो एकीकृत नमुना बस्ति पुरा गरे।


५३ घर, १ सामुदायिक भवन, १ मन्दिर , १ बाल उद्यान, १ प्रतिक्षालय सहित भ्यु टावर निर्माण गर्न फाउन्डेसन सफल भयो.
करिव ४ करोड ७६ लाखको लगानीमा बस्ति निर्माण सम्पन्न भयो।

पुस्तौवाट पिछडिएको मुसहरको मुहारमा हासो छायो। शिक्षाको उज्ज्यालो ज्योति पाउन नसकेका मुसहरहरू धुर्मुस-सुन्तलिकै अगुवाईमा स्कुल जान थाले। तीन महिनाको अवधिमा एउटा सुन्दर नमुना बस्तीको निर्माण कार्य सम्पन्न गर्न धुर्मुस सुन्तली सफल भए।


मुसहर बस्ति निर्माण सम्पन्न पछी देखिएको माहोल भिडियो र तस्विरमा प्रस्तुत गरेका छौ।

तस्विर: मिलन ढुंगाना 

Comments

comments