दर्पण छायाँ–२ को क्लाइमेक्स पुनः सुटिङ

फिल्म ‘दर्पण छायाँ–२’ को क्लाइमेक्स पुनः सुटिङ गरिएको छ । दार्जिलिङमा पुगेर ‘क्लाइमेक्स’को फेरि सुटिङ गरिएको हो । ‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको हो ।

झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको छ । जुन दृष्यका लागि मात्रै दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए । सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए । उनले भने, ‘हामीले यही दृष्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं । तर, यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन् ।’


फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् ।


फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन् । फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् ।

Comments

comments